बारामा मिटरब्याजी विरुद्ध अहिलेसम्म ५२ वटा उजुरी दर्ता

                     
  नेपाल लेख   २०७९ भाद्र ९, बिहीबार १६:०४

प्रेसशिलशिला खबर

२०७९ भाद्र ०९ (बारा)

बारा जिल्लामा मिटरब्याजी विरुद्ध बिहीवार दिउँसोसम्म ५२ वटा उजुरी परेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । सरकारले चर्को ब्याज लिने विरुद्ध कारबाही गर्ने अभियान संचालन गरेपछि बारामा पनि चर्को ब्याजबाट पीडितहरुले उजुरी दर्ता गराएका हुन् । मिटरब्याँज पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताउनुभयो । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको उहाँको भनाइ रहेको छ । मिटरब्याजीबाट दुःख पाएकाहरूका बारेमा अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा.भीषम कुमार भुसाललाई संयोजक बनाएर कार्यदल नै गठन गरेर ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन आएको उजुरीका सम्बन्धमा प्रजिअले सम्बन्धित पक्षलाई झिकाएर नियम सङ्गत लेनदेन भएको भए आपसी सहमतिमा उजुरी छिनो फानो गर्न निर्देशन दिइएको छ । सहमति हुन नसकेको खण्डमा उजुरीका सम्बन्धमा कानुनी प्रक्रिया सुरु गर्न प्रहरी कार्यालयमा पठाउन भनिएको छ । जिल्ला प्रशासन कार्यालयलाई दिइएको निर्देशनमा स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकार नपर्ने उजुरीको सम्बन्धमा गृह मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिइएको बताइएको छ । मिटरब्याजीको समेत आम्दानीको आर्थिक स्रोत, जायजेथा तथा सम्पत्तिको स्पष्टता र अनुसन्धान गरी ठूला कारोबारको सम्बन्धमा विशेष छानविन गर्न गृह मन्त्रालयबाट भनिएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?