२०७९ साउन २३ (निजगढ)
पछिल्लो समय यता विवादमा रही रहेको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई कार्यालयमा हाजिरी गराउनुपर्ने माग गर्दै आएका कार्यपालिका सदस्यहरुले नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गको कार्यकक्षमा आज दिउँसो तालबान्दी गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा थमैति भएर निजगढ आउनु भएका अधिकृत कार्कीलाई नगरप्रमुख पुरीले हाजिर गर्न रोक लगाएपछि विरोधमा उत्रिएका गठबन्धन दलका बहुमत सदस्यहरुले नगर प्रमुख पुरी र उपप्रमुख थिङ्गको कार्यकक्षमा ताला लगाएका हुन । तालाबन्दी गर्दै निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानले प्रमुख प्रशासकीय अधिकृतको अभावमा निजगढ नगरपालिकामा विकास निर्माण लगायत सेवा सम्बन्धि अन्य काम पनि प्रभावित बनेको बताउनुभयो ।
संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको साउन ११ गतेको निर्णयानुसार बाराको पचरौता नगरपालिकामा सरुवा हुनुभएका अधिकृत कार्की निर्णय उल्टाउदै फेरि निजगढमा नै फर्किन लागेपछि नगरपालिकामा मेयर पुरी र कार्यपालिका सदस्यहरुबीच विवाद उत्पन्न भएको हो । कार्कीको स्थानमा मकवानपुरको थाहा नगरपालिकाकाबाट सरुवा भएर निजगढ आउनुभएका हरिलाल पुरीले कार्यालयमा उपस्थित भएर हाजिरी समेत गरिसक्नु भएको अवस्थामा मन्त्रालयले कार्कीलाई साउन १४ गतेको निर्णय अनुसार फेरि निजगढमा नै थमौति गरेको थियो । नगर प्रमुख पुरीले भने सरुवा भएर जानु भएका अधिकृत कार्कीलाई हाजिर गराउन नसकिने व्यहोराको पत्र मन्त्रालयमा पठाउनु भएको छ । यसअघि पटक पटक मन्त्रालयको सरुवा निर्णय उल्टाएर निजगढमा बस्दै आउनु भएका प्रमुख प्रशासकीय कार्कीको निजगढ मोहलाई लिएर स्थानीयले प्रश्न गर्दै आएका छन् ।