२०७९ असार २१ (काठमाण्डौँ)
रामेछापमा मंगलबार बिहान बस दुुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बिहान ७ बजेतिर सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ८३९६ नम्वरको यात्रुवाहक बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा परेर ९ जनाको घटनास्थल र ४ जनाको उपचारको क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा क्रमश ः रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खड्क बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् । मृतक मध्ये ३ जनाको भने सनाखत भएको छैन ।
उक्त दुर्घटनामा परेर घाइते भएका २१ जनाको हाल धुलीखेल अस्पतालमा उपचार भइरहेको छ भन ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ । बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।