२०७९ असार १८ (निजगढ)
प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुले शनिवार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र टाँगियावस्तिको निरीक्षण गर्नुभएको छ । गत जेष्ठ १२ गते निजगढ विमानस्थल बनाउन रोक लाएको सर्वोच्चले गत असार १५ गतेको पूर्णपाठमा जैविकविविधताको न्यूनतम क्षेति हुने गरी सरकारले विमानस्थल निर्माण गर्न सक्ने भनेपछि प्रधानमन्त्रीसहित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले निजगढ विमानस्थलको प्रस्थावित क्षेत्र टाँगियावस्तिको हवाइ निरीक्षण गर्नुभएको हो । टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठपनि सहभागी हुनुहुन्थ्यो । निजगढस्थित फास्टट्याकको जीरो किमीमाम अयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिवद्ध रहेको बताए ।
गठबन्धनका नेता, पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि निजगढमा विमानस्थल निर्माण गर्ने विषयको सम्बन्ध फास्टट्याकसंग पनि भएको बताए ।
यसैगरी पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलामा देशमा अन्तर्राष्ट्रिस्तरको सुविधा सम्पन्न विमानस्थल निर्माण गर्न जरुरी रहेको ठहर भएको जानकारी दिनुभयो । उहाँले अदालतको पूर्णपाठमा कस्तो र कतिवटा विमानस्थल निर्माण गर्ने भन्ने कुराको निक्र्यौल गर्ने जिम्मा कार्यपालिकालाई दिएको भन्दै अब सरकारले निर्णय गरेर निजगढ विमानस्थल निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले अदालतले निजगढमा एयरपोर्ट सिटी बनाउने कुरामा भने रोक लगाएको पनि बताए ।
गठबन्धनका अर्का नेता उपेन्द्र यादवले राष्ट्रिय आवश्यकता पूरा गर्नकै लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भएको हुँदा गफ मात्रै नगरेर काम अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले विमानस्थल निर्माण क्षेत्रमा पर्ने वस्तिहरुको व्यवस्थित स्थानन्तरणमा ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः ३० मा निजगढ आइपुगेको प्रधानमन्त्री देउवासहितको टोलीले करिव २० मिनेटसम्म टाँगियावस्थितको हवाइ निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा टोलीले टाँगियावस्ति, काटँघाट वस्ति र आसपासको वन क्षेत्रको पनि निरीक्षण गरेको थियो । प्रस्तावित विमानस्थल निर्माण क्षेत्रको निरीक्षणपछि टोलीले निजगढमा रहेको नेपाली सेनाको फास्टट्याक (काठमाण्डौं तराई÷मधेस दु्रतमार्ग) विकास निर्माण दल जिरो किमीमा सरोकारवाला कार्यालयका प्रमुख र बाराका स्थानीय निकायका प्रमुखहरु र संचारकर्मीहरुँंग भेट गरेर भ्रमणको बारेमा जानकारी गराएको थियो । त्यसैगरी निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले विमानस्थल निर्माणको काम चाढै सुरु गर्न माग गर्दै प्रधानमन्त्री देउवालाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउनुभएको छ । अदालतको पछिल्लो फैसलापछि विमानस्थल निर्माण गर्ने जिम्मा सरकारको काँधमा आएको भन्दै जतिसक्दो चाढो निर्माण कार्य सुरु गर्न प्रधानमन्त्री देउवासंग आग्रह गरिएको छ ।]