प्रेसशिलशिला
जेष्ठ १७ (निजगढ)
निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गर्न संघर्ष समिति बनाउने भनेर मंगलवार निजगढमा भएको सर्वपक्षीय र सर्वदलीय भेला बिना निष्कर्ष टुङ्गिएको छ । निजगढ उद्योग वाणिज्य संघको आयोजनामा भएको भेलामा समितिको नेतृत्व गर्ने बारेमा दलहरुबीच सहमति हुन नसकेपछि भेला निष्कर्षबिहिन सकिएको हो । भेलामा नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाका प्रतिनिधिहरुले पनि नेतृत्व आफूहरुले पाउनु पर्ने दावी गरेका थिए । अदालतको फैसला पुनरावलोकन गर्न आन्दोलन गर्ने बारेमा दलका प्रतिनिधिहरुबीच सहमति भएपनि कस्को नेतृत्वको आन्दोलन गर्ने भन्ने बारेमा सहमति हुन नसकेको नेकपा एमाले निजगढ नगर किमिटीका उपाध्यक्ष भोला प्रसाद गौतमले जानकारी दिनुभयो । उता आयोजक वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले भने निजगढमा क्रियाशील एमाले कांग्रेश लगायत ६ राजनीतिक दलको अध्यक्षतामा समिति गठन गर्ने निर्णय भएको बताउनुभएको छ । उहाँले दलका प्रतिनिधिहरुले सहमति गरेर आन्दोलनको प्रारुप तयार पार्ने पनि जानकारी दिनुभयो । यसअघि भेलामा बोल्दै नेकपा एमालेका नेता एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्म पौडेलले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प नभएको बताउनुभयो । उहाँले भारत नेपालमा विमानस्थल र फास्टट्याक बन्न नदिने पक्षमा रहेको बताउनुभयो ।
त्यसैगरी एमालेका अर्का नेता अच्युत मैनालीले आन्दोलनलाई प्रभावकारी पार्न सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै निजगढ नगर प्रमुख सुरथ पुरीले अदालतको फैसला जनविरोधी र विकास विरोधी भएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले आफूहरुले विगतमा पनि निजगढ लगायत देशका विभिन्न विकास निर्माणको योजना सफल पार्न दवावमूलक आन्दोलन गर्दै आएको बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका नेता शम्भुबहादुर बुढाथोकीले विमानस्थल निर्माण गराउन सबै पक्षसंग सल्लाहा र सहयोग लिएर अघि बढनुपर्ने बताउनुभयो
त्यस्तै राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका पूर्व सदस्य विनोद भारतीले सर्वोच्चको फैसलाको जनस्तरबाट प्रतिवाद गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा निजगढ नगरपालिकाका पूर्व मेयर सुरेश खनाल, पूर्वमेयर लिलादेबी लामिछाने, नेपाली पर्यटन व्यवसायी युवराज लामा, नेकपा एमाले निजगढ नगर कमिटीका सचिव तिलक घलान, नेपाली कांग्रेशका नगर सभापति नवराज तिमल्सिना, माओवादीका नगर अध्यक्ष संतोष दङ्गाल, नेकपा समाजवादीका नगर अध्यक्ष भिमसेन सापकोटा, राप्रपाका खड्कप्रसाद उप्रेती लगायतले सर्वोच्चको फैसला विकास विरोधी रहेको बताउनु भएको थियो । यसैबीच निजगढका युवा र विद्याथीहरुले निजगढ स्थित पूर्वपश्चिम लोकमार्गको शहिद चोकमा मंगलवार पनि चक्काजाम र धर्ना गरेका छन । पूर्वनिर्धारित कार्यक्रम अनुसार निजगढका युवा विद्यार्थीहरुले चक्काजाम र प्रर्दशन गरेका हुन । स्वतन्त्र निजगढ युवा÷विद्यार्थी सरोकार मन्चको नाममा उनीहरुले एक सातादेखि निजगढमा चक्काजाम र प्रदर्शन गर्दै आएका छन् ।
त्यसैगरी निजगढ सार्वजनिक सरोकार समितिले भोली बुधवार निजगढमा विरोध प्रदर्शन गर्ने भएको छ । सरोकार समितिले अदालतको फैसला पुनरावलोकनको माग गर्दै दिउसो १ बजेबाट शहिद चोकमा प्रदर्शन गर्ने भएको हो ।