अबदेखि मौसम सफा नभएसम्म उडान अनुमति नदिइने, एउटा इन्जिन भएको हेलिकप्टरमा पनि २ जना पाइलट अनिवार्य

                     
  नेपाल लेख   २०७९ जेष्ठ १७, मंगलवार १६:१७

जेष्ठ १८ (काठमाण्डौ)

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमान प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएसम्म जहाजहरूलाई उडानको अनुमति नदिने भएको छ ।

जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित इनरुट को मौसम सफा नभएसम्म जहाजहरूलाई उडान अनुमति नदिने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म भएका दुर्घटनाहरूमा प्रतिकूल मौसममा जहाज उडाएका कारण भएको देखियो, अबदेखि जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित इनरुट को मौसम सफा नभएसम्म उडान अनुमति दिइने छैन ।

प्रतिकूल मौसमका कारण देशमा पटक–पटक हवाई दुर्घटना हुँदै आएको निष्कर्ष निकाल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यो निर्णय गरेको हो । महानिर्देशक अधिकारीका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुने भएको छ । अब जहाज उड्ने रुटको मौसमसमेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने र यसको कडाइका साथ पालना गरिने क्यानले जनाएको छ । प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मानिनेछ । प्रतिकूल मौसमका कारण आइतवार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा तारा एअरको विमान दुर्घटना भएको क्यानको प्रारम्भिक अनुमान छ । दुर्घटनामा चालक दलका सदस्य तीन जनासहित २२ जनाको ज्यान गएको थियो ।

त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । यसका लागि प्रस्ताव तयार पारेर सात दिन भित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको प्राधिकरणले जनाएको छ ।

अहिले नेपालमा दुई वटा इन्जिन भएका हेलिकप्टर र हवाईजहाजमा मात्रै दुई जना पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ । पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई ख्याल गरेर दुई जना पाइलटको व्यवस्था गर्न लागेको पनि प्राधिकरणले जनाएको छ ।

तर हेलिकप्टर व्यवसायीहरूले भने नेपालमा हेलिकप्टर पाइलट उपलब्ध गराउन कठिन हुने भएकोले यस्तो व्यवस्था कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने बताएका छन् ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?