भारतमा कोरोना संक्रमितको संख्या घट्दै

                     
  नेपाल लेख   २०७८ फाल्गुन ३०, सोमबार १५:५५

फाल्गुण ३०
भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ लाख १५ हजार ८ सय ७७ को मृत्यु भएको छ । तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । तीमध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख ९३ हजार ४ सय ९४ रहेको समाचारमा जनाइएको छ । यो सँगै भारतमा अहिले सक्रिय संक्रमितको संख्या भने ३६ हजार १ सय ६८ रहेको अधिकारीले जनाएका छन् । सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितको शून्य दशमलव ८ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ३ सय ७७ संक्रमणमुक्त भएका छन्। नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गइरहेको हो ।
भारतमा अहिलेसम्म संक्रमणमणमुक्त भइसकेकाको संख्या ४ करोड २४ लाख ४१ हजार ४ सय ४९ पुगेको छ ।
गत आइतबार एकैदिन भारतमा ५ लाख ३२ हजार २ सय ३२ को कोरोना परीक्षण गरिएको थियो । भारतमा कोरोना शुरु भएयता हालसम्म ७७ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ ।
भारतमा सन् २०२१ जनवरी १६ मा कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो। त्यस वेलादेखि हालसम्म कोरोना विरुद्धको १ अर्ब ८० करोड १९ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?